पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै निमुखा

आश्विन ३, काठमाडौं । सप्तरीको डाकनेश्वरी–७ की १७ वर्षीया संगीताकुमारी मण्डललाई गत भदौ २९ गते चार जनाले बलात्कार गरे । सामूहिक बलात्कारको घटनापछि गाउँमा बसेको पञ्चायतीमा ५५ हजार रुपैयाँ नगद लिएर मिल्न र प्रहरीमा उजुरी नगर्न पञ्चहरूले मण्डललाई उर्दी जारी गरे । पीडित किशोरीले पीडा सहन नसकेर सोही दिन राति झुन्डिएर आत्महत्या गरिन् । पञ्चहरूको निर्णयका कारण ती किशोरीले ज्यान गुमाइन् ।

सप्तरीकै राजगढ गाउँपालिका–४ बेल्ही चपेनामा तीन महिनाअघि वडाध्यक्ष हेमनारायण साहसमेतको उपस्थितिमा बसेको पञ्चायतीले चोरी गरेको आरोप लागेका चार जना मुसहर किशोरलाई ११ सिर्कनु हिर्काउने र जनही २५ सय रुपैयाँका दरले जरिवाना तोक्ने निर्णय सुनाइयो । ती किशोरले भनेअनुसारकै सजाय भोगे । तिनका अभिभावकले घरको सामान बेचेर जरिवाना पनि बुझाए । उनीहरूले चोरी गरेको पुष्टि भए पनि पञ्चहरूले कानुनी प्रक्रियाको साटो ११ सिर्कनु हिर्काउने निर्णय सुनाएका हुन् ।

सप्तरीमा पछिल्लो समय गम्भीर प्रकृतिका आपराधिक घटनामा पनि सामाजिक पञ्चायतीका नाममा मेलमिलाप गराउने क्रम बढेको छ । कानुनी कारबाही हुनुपर्ने विषयमा जनप्रतिनिधिसमेतको संलग्नतामा पञ्चायती बस्ने र आफूखुसी दण्ड जरिवाना तोक्ने गरिएको छ । कोरोना महामारीअघि पनि जिल्ला प्रहरी कार्यालयसहित प्रहरी इकाइहरूमा दैनिक बिहान १० देखि साँझ ६ बजेसम्म समूह–समूहमा विभिन्न गाउँबाट आएका समूहहरूबीच छलफल चलिरहेको हुन्थ्यो । छिमेकीबीचको झगडा, जग्गा विवाद, अंश झगडा, साँधसिमाना, कुटपिट, महिला र घरेलु हिंसालगायत विवादको छलफलबाट समाधान गर्ने भन्दै पञ्चायतीले आफूखुसी निर्णय गर्थे ।

सर्वसाधारणले समस्यामा पर्दा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनले प्रहरीमा उजुरी पठाउने गरेको छ । जिल्ला प्रहरीले पनि मातहतका इकाइलाई पत्राचार गरी दुवै पक्षलाई राखेर छलफल गराउन निर्देशन दिने गरेको छ । तर, ती छलफल टुंगिएको प्रक्रिया, दण्ड र जरिवानालगायतबारे स्पष्ट अभिलेख भेटिँदैन ।