संविधानकाे मौलिकता र संरचनामा खलल पुग्नेगरी संशाेधन गर्न हुँदैन – रामचन्द्र पौडेल
आश्विन ३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा खलल पुग्नेगरी संशाेधन गर्न नहुने बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएलगत्तै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । पाँचौँ संविधान दिवसका अवसरमा शुभकामना दिँदै नेता पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्नेगरी संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताएका छन् ।
उनले नेपाली जनताले लामो संघर्षपछि र धेरै दुःख, मेहनत गरेर नेपालको वर्तमान संविधानको बनाएको उल्लेख गर्दै संविधानले नेपालका सवै जातजाती, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत संगेटेर लगभग सत्तरी वर्षपछि आएर देशमा राजनीतिक प्रणालीको टुङ्गो लगाएको बताए ।
पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको वर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गरेका छन् । उनले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाहरुको संवोधन हामी सबैको सहमतिमा गर्न सकिने बताए । तर प्रणालीगत हिसाबले र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुर्याउने गरी संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाईराख्नु नत राष्ट्र हितमा छ, न त त्यस्तो अधिकार कसैलाई भएको पौडेलको भनाइ छ ।
प्रतिकृया दिनुहोस्