संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायीत्वको नाममा संविधान अपरिवर्तनशील विषय नभएको प्रष्ट पार्नु भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिएमा संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने पनि बताउनुभयो ।

उहाँले संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेका ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’को विमोचन गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले देश र जनताको आवश्यकता/औचित्यतताका आधारमा संविधान संशोधन परिमार्जन गर्नुपर्ने हुनसक्ने बताउँदै उहाँले खुला दिमाग राखेर बिना भड्काउ तयार रहनुपर्ने बताउनुभएको हो ।

त्यस्तै, उहाँले न्याय समानता तथा विकासलाई यथोचित ढङ्गले परिमार्जित गर्न र परिवर्तनको उपलब्धिलाई अगाडि बढाउन संविधान संशोधन हुनसक्ने बताउनुभयो ।

त्यस्तै, उहाँले सम्पूर्ण नागरिकले सुरक्षित हुन पाउने र विकासमा समान अवसर प्राप्त गर्ने विषयलाई संविधानले सुरक्षित गरेको पनि जनाउनुभएको छ ।