तिनकुनेबाट ४२ बोरा प्याज बरामद

आश्वीन १, काठमाडाैं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गरेकाे छ । बजारमा ब्यापारीहरुले प्याज लुकाई कृत्रिम मूल्य बढाउँदै उपभोक्तासँग चर्को मूल्य असुल्न थालेपछि अनुगमन तीब्र पारिएको हाे ।

छड्के अनुगमन गर्दा तिनकुनेको एक तरकारी बजारकम व्यापारीले लुकाएर राखेको ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको नुगमन समितिका सदस्य उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले जानकारी दिनुभयाे । उहाँका अनुसार विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरिएकाे छ ।

ती दुई पसललाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताइएको छ । यी दुई बाहेक अर्को एक पसलमा पनि सील गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयाे । उक्त पसलले आलुको बोराभित्र ठूलो परिमाणमा प्याज लुकाइराखेको थियो ।

अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।

बुधबार पनि काठमाडौं महानगरपालिकाले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बल्खु तरकारी बजारभित्रका २ पसल चुली सगरमाथा इन्टरप्राईजेज र एसके सप्लायर्सले प्याजमा दोब्बर मूल्य असुलेको भेटिएपछि त्यसका संचालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले हिरासतमा लिएको थियो ।

भारतले आन्तरिक माग धान्न र आकासिएको मूल्य नियन्त्रण गर्न प्याज निर्यातमा रोक लगाएको छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।