बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई दिएर नेकपा स्थायी समितिकाे बैठकबाट बाहिरिए ओली
भदौ २६, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिनु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै बाहिरिनु भएको हो ।
अध्यक्ष ओली बाहिरिनु भएपनि अहिले नेकपाको स्थायी कमिटी बैठक जारी छ । गत साउन १३ गते बसेको बहुमत सदस्यको बैठकपछि आज बैठक बसेको हो । बैठकमा नेकपा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुने जनाइएको छ ।
गत सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भएको छलफलबाट आज बैठक बोलाउने तय भएको थियो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।
दुई अध्यक्षले सहमति जनाए पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने असन्तुष्ट रहनुभएकाे छ । उहाँहरूबीच एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् ।
त्यस्तै एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।
स्थायी कमिटी बैठक गत असार १० गतेदेखि सुरु भएको थियो । तर, सुरुवातदेखि नै विवादबाट गुज्रिरहेको बैठक साउन १३ गते उत्कर्षमा पुगेको थियो । त्यसदिन ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षले आफू पक्षका सदस्यहरुको बैठक गरेको थियो ।
प्रतिकृया दिनुहोस्