मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

भाद्र २५, काठमाडाैं । मेक्सिकोले रुससँग कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको ३ करोड २० लाख डोज खोप किन्ने भएको छ ।
रुसको सार्वभौम सम्पत्ति कोषले उक्त परिमाणको खोप मेक्सिकोलाई बिक्री गर्ने जनाएको हो । कोषका अनुसार रूसमा निर्माण गरिएको ‘स्पुतनिक–५’ खोप मेक्सिकोको एक मुख्य फर्मास्युटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो सम्झौता ‘स्पुतनिक–५’ खोप निर्यातका लागि गरिएको दोस्रो सम्झौता हो । रोयटर्सका अनुसार यसअघि रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले पहिलो सम्झौता अगस्टमा काजखस्तानसँग गरेको थियो ।
रुसले अगस्ट ११ मा कोभिड–१९ विरुद्धको खोप निर्माण सफल भएको दाबी गरेको थियो । उक्त खोप कोभिडविरुद्धको विश्वकै पहिलो खोप भएको जनाइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोभिडविरुद्धको खोप सफल दाबी गर्दै उक्त खोप आफ्नी छोरीलाई समेत दिइएको जनाएका थिए तर अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले उक्त खोप निर्माणका क्रममा सबै प्रक्रिया पूरा गरेकोमा आशंका व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि रुसमा निर्मित खोप मापदण्ड पूरा नगरी प्रयोगमा ल्याइएको दाबी गरेको छ । तर रुसले भने ती आरोपहरूको खण्डन गर्दै खोप आपत्कालीन प्रयोगमा आइसकेको जनाएको छ ।
यसैबीच, भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले कोभिड–१९ विरुद्ध रुसले तयार पारेको ‘स्पुतनिक–५’ खोप क्लिनिकल परीक्षणका लागि सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् ।
भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मडुरोले राष्ट्रिय सभाको आगामी चुनावमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिनेबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल भइरहेको समेत जनाएका छन् ।
चुनावमा करिब १४ हजारभन्दा बढी आकांक्षी छन् । रुसको गामालेया केन्द्रले निर्माण गरेको खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ । उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष ९आरडीआईएफ० का प्रमुख कार्यकारी किरिल दिमित्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताएका छन् । उनका अनुसार उक्त खोप विश्वका पाँच देशमा उत्पादनका लागि रुसले सहमति दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्