नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो, ज्यान बचाउन स्थानीयको भागाभाग

भाद्र २४, नुवाकाेट । अघिल्लो वर्ष पहिरोको चपेटामा परेर ठूलो जनधनको क्षति व्यहोरेको नुवाकोटको दुर्गम गाउँ घ्याङफेदीमा फेरि पनि भीषण पहिरो गएको छ ।

अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको सीसीपू बस्तीमाथिबाट मंगलबार विहान खसेको पहिरोले स्थानीयबासी आतंकित बन्न पुगेका छन् ।

साथै, आफ्नो ज्यान जोगाउनका लागि यहाँका सयभन्दा बढी घरपरिवार विस्थापित नै भएका छन् । गाउँमा पहिरो गएपछि ज्यान बचाउनका लागि बालबच्चा च्यापेर भागदौडको अवस्था आएको स्थानीय विष्णु तामाङले जानकारी दिए ।

पहिरोको डरले गाउँबाट भागेकाहरुको बिचल्ली भएपछि घ्याङडाँडा र गो-ख्र्याङको खाली जमीनमा बस्न पुगेका छन् । ‘गाउँ पुरिने उच्च जोखिममा छ । हामी सयौँ स्थानीय घर छोडेर भाग्न बाध्य छौँ’, उनले घटना विवरण सुनाउँदै भने, ‘पहिरोले गाउँमुनिको तादी खोला थुनिन सक्ने खतरा बढेको छ ।’

सोही कारण घ्याङफेदीभन्दा तलतिरका बस्ती र खेतियोग्य फाँटहरु बगाउने खतरा बढेको स्थानीयहरु बताउँछन् । बस्तीमा बाक्लो हुस्सु लागेकाले उद्दारका लागि कोही पनि जान सक्ने अवस्था नरहेको बुझिएको छ ।

त्यस्तै, सीसीपू गाउँमा रहेको पुल समेत पहिरोसँगै आएको बाढीले बगाएको अनुमान गरिएको छ । पहिरोका कारण तादी खोलामा समेत ठूलो बाढी आएको छ ।

गाउँपालिकाले घटनापछि पनि कुनै चासो नराखेको स्थानीय विष्णु तामाङले गुनासो गरे । त्यहाँ के–कति मात्रामा क्षति भयो भन्ने अहिलेसम्म विवरण आइसकेको छैन ।

विहान करिब ८ बजे गएको पहिरोमा ५ वटा भैँसी पुरिएको जानकारी आएपनि मानवीय क्षतिको विषयमा भने अहिलेसम्म कुनै जानकारी नआएको गाउँपालिकाको कार्यालय समुन्द्रटारले जनाएको छ ।

२०७२ सालको भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भूगर्भविद्ले गरेका सर्वेक्षणमा उक्त बस्ती पहिरोको उच्च जोखिममा रहेको र तत्काल बस्ती स्थानान्तरण गर्नुपर्ने भनिएको थियो ।

तर, गाउँपालिका र वडा कार्यालयले यहाँका ५० घरधुरीलाई मात्रै समुन्द्रटारको रामतीमा सारेका तर, अन्य एकसय ५ घरधूरीलाई त्यही राखेर स्थानान्तरणमा वेवास्ता गरिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

यस घटनापछि पूर्वमन्त्री एवं सांसद हितबहादुर तामाङले आफू र आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकार साथमा रहेकाले विचलित नहुन आग्रह गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई जानकारी गराएको पनि बताएका छन् ।

‘सरकार र सरकारका संयन्त्रहरु उद्दार तथा राहतसहित सुरक्षित बासस्थानको व्यवस्थापनमा छिटोचाँडो जुट्नेछ’, सांसद तामाङले भने, ‘दुर्गम बस्ती भएकाले घटनालगत्तै आइपुग्न धेरै जटिल छ । त्यसैले जोखिम नउठाई सुरक्षित स्थानमा रहन र सम्भावित जनधनको क्षतिबाट बच्नुहुन अनुरोध छ ।’