उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने
सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।
आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो ।
अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ । गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो ।
सोही आधारमा त्रुटि सच्चाउन लागिएको हो । मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो ।
नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ ।
प्रतिकृया दिनुहोस्