बच्चा जन्मेपछि सार्वजनिक भयो आफ्नै शिक्षकले छात्रामाथि बलात्कार गरेको

बैतडी- बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ ।

जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो ।

पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार भएको बाहिरिएको हो ।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो ।

केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए ।

उनले भने, ‘घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।’

कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

यद्यपि बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन ।