नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

भाद्र २२, काठमाडाैं । नागरिकता ऐन २०६३ को संशोधन विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा छ । विवाद रहेकै कारण हालसम्म ऐन संशोधन हुन सकेको छैन । तर, भएकै ऐन कार्यान्वयनमा पनि प्रश्न उठ्न थालेको छ । ऐन मिचिएका कतिपय तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।

नेपाल छोडेर विदेशिने कतिपय नेपाली नागरिकले बिदेशी नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्नुपर्ने व्यवस्था छ । तर, कतिपयले नेपाली नागरिकता नत्याग्ने गरेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् । बिदेशिएर अर्को देशको नागरिकता लिनेले नेपाली नागरिकता त्याग्नु पर्ने कानूनी व्यवस्था छ । दोहोरो नागरिकताको परिकल्पना नेपालको संविधान र ऐनले कहिँ कतै गरेको छैन । त्यस्तो भेटिए प्रचलित कानून बमोजिम कडा कारवाही हुने नागरिकता ऐनमा प्रष्ट उल्लेख छ ।

अहिले विश्वका विभिन्न मुलुक लगायत बिशेष गरी भारतमा रहँदै आएका नेपालीहरुले दुबै देशको नागरिकता लिएका तथ्यहरु सार्वजनिक हुन थालेको हो । सम्बन्धित ब्यक्तिले बिदेशी नागरिकता लिएपछि, नेपाली नागरिकता त्यागे नत्यागेको पूर्ण अभिलेख नेपाल सरकारसंग पनि छैन । गृह मन्त्रालय भन्छः कुन नेपाली नागरिकले कुन देशको नागरिकता लियो भन्ने यथेष्ठ तथ्यांक राख्न सम्बन्धित राष्ट्रसंग सहकार्य आवश्यक छ ।

अहिले सम्बन्धित दूताबास मार्फत नागरिकता त्याग्ने जानकारी पठाउने ब्यक्ति बाहेक अन्यको रेकर्ड भने सरकारसंग पनि छैन । नेपालको नागरिकता ऐन २०६३ को संशोधन विधेयक संसदमा अहिले छलफलको क्रममा छ । संशोधन पश्चात धेरै कुरा स्पष्ट हुने अधिकारीहरु बताउँछन ।

छिमेकी राष्ट्र भारतमा हेर्ने हो भने, अहिले राजधानी नयाँ दिल्लीसहित ठूल–ठूला सहरहरुमा लामो समयदेखि नेपालीहरु बसोबास गर्दै आइरहेका छन । उनीहरु दशकौदेखि विभिन्न व्यवसायमा छन । उदाहरणका लागि भारतमा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्सलाई लिन सकिन्छ ।

भारतको अधिकांश सहरमा फैलिएको यस संगठनमा मात्र करिब १६ सय नेपाली व्यवसायीहरु सदस्य छन । एकातिर, भारतमा नेपाली व्यवसायीहरुको यस्ता संगठनहरु कति छन भन्ने कुनै तथ्यांक नै छैन । अर्को तर्फ भारतमा यसरी व्यवसाय गरिरहेका अधिकांश व्यवसायीसंग दोहोरो नागरिकता रहेको दावी गरिएको छ । भारतसित नेपालको सीमा जोडिएको मात्र हैन, सम्पूर्ण दक्षिण पूर्वी र पश्चिम सीमा खुला छ ।

लेनदेनको व्यवहार बिहाबारी समेत हुने गरेको र दुवै देशका नागरिक एक÷दोस्रो देशमा गई आफ्नो सीपअनुसारको काम गर्न र अनिश्चितकालसम्म बस्न पाउने स्थिति रहि आएको छ । जनसंख्याको हिसाबले नेपाल भन्दा भारत कैयन् गुणा ठूलो भएकाले पनि नेपालका नागरिकताको विषय जटिल भएको देखिन्छ ।

कानूनतः नेपालीले अर्को मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग नगरे प्रचलित कानून बमोजिम कारवाही भोग्नु नै पर्छ ।