सपनाको महल


राजकुमार बराल

प्रिय
तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए
तिमीले पनि देख्ने सपना यस्तै नभएको भए
भन्न सक्दिनथें होला
बिचारको भूमध्यरेखामा उभिएर
भरिएका भावनाका गाग्रीहरूले
कस–कसलाई भिजाउँथे र
कस–कसलाई सिंचित गर्थे भनेर ?

प्रिय
तिमीले भन्ने प्रेम कहानी अर्कै भैदिएको भए
तिमीले हिँड्ने गोरेटो अर्कै भैदिएको भए
सायद,
तिमीले गाउँने पालाम सुन्ने म हुँदैन थिएँ
मैले नाँच्ने बालन नाचमा तिमी हुँदैन थियौ ।

तर, पनि प्रिय
धर्ती एकै हुँदैमा
सपना एकै बुन्दैमा
एउटै गोरेटो हिँड्दैमा वा
पालाम बालनसँगै नाच्दैमा
सम्बन्धका डोरीहरू तान्दा
काटिएका मनका कित्ताहरू नजोडिन पनि सक्छन् ।

त्यतिबेला तिमीलाई लाग्नसक्छ
तिमीले जिएको जीवन
तिम्रो जस्तो छैन
मैले पढेको जीवन
मेरो जस्तो छैन ।
अनि ख्याल राख प्रिय
सपनाको आफ्नै बिरासत हुन्छ
यसको आफ्नै महल हुन्छ
तिम्रा विपनाका यादहरू भन्दा बिशाल ।।