लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण
काठमाडौँ – वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गर्नुभएको छ । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गर्नुभएको हो ।
एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई केजी, चियापत्ती एक प्याकेट वितरण गरिएको हो । जिल्लाको जुगल–३ लिदीमा गत साउन ३० गते गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् भने अझै तीन जना बेपत्ता छन् ।
पहिरोपीडितका लागि पर्साको ठोरी–४ मा गठन भएको राहत सङ्कलन समितिले रु छ लाखभन्दा बढी सङ्कलन गरी सहयोग गरेको छ । शनिबार बिहान पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल –१ स्थित बाँसखर्क पुगेर रु छ लाख ४३ हजार नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिनुभयो ।
यही भदौ २ गते वडा नं ४ को घ्याङडाडामा वडाध्यक्ष बईबहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले पहिरोमा परी घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकालाई राहत वितरण गर्ने उद्देश्यले शिक्षक दलबहादुर स्याङबोको संयोजकत्वमा राहत सङ्कलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन अभियन्ताको रूपमा १३ सदस्यीय समिति गठन गरेको थियो । समितिले समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समिति संयोजक शिक्षक स्याङ्बोले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्