अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै
भाद्र २१, काठमाडाैं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् ।
यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको खुलेको छ । निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ । श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हिमचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।
केसी परिवारले गीता हराएको भन्दै गत बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले खोजीका क्रममा उनको शव शुक्रबार साँझ गोदावरी नगरपालिका–१० लेलेको जंगलमा फेला पारेको थियो ।
हत्या अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गीताको हत्याको कारण लेनदेनको विषयपछि उब्जिएको विवाद हुन सक्ने देखिएको छ । सो क्रममा विवाद उब्जिएपछि घाँटी थिचेर गीताको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यस्तै, गत २५ साउन राति गोंगबुमा कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध तथा अर्थिक लेनदेनकै कारण क्रूर तथा वीभत्स तरिकाले हत्या भएको थियो । एकातिर ज्यान, अर्कातिर टाउको र खुट्टा हुने गरी गरिएको सो वीभत्स हत्यापछि शवका टुक्रा सुटकेस र जेब्रा झोलामा हालेर फ्याँकिएको थियो ।
हत्यामा संलग्न व्यक्ति शव फालिएको स्थान नजिकै बस्थिन् । प्रहरीको बलियो अनुसन्धानले हत्याको दोस्रो दिनमै हत्यारा पक्राउ गर्न सफल भयो । हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको पुष्टि भएको थियो ।
महानगरीय अपराध महाशाखाका प्रमुखसमेत रहेका एसएसपी दीपक थापाले अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए ।
प्रतिकृया दिनुहोस्