अर्थ तथा सञ्चारमन्त्री खतिवडाले आज साँझ राजीनामा दिने

भदौ १९, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार (आज) साँझ नै राजीनामा दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज नै राजीनामा दिने घोषणा गनुभएको हो ।

विहीबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा पठाउने निर्णय गरेको थियो । गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएसँगै डा. खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिदै थियो ।

तर पदावधि सकिने दिन शनिबार परेकोले उहाँले आजै राजीनामा दिने तयारी गर्नु भएको हो । उहाँले सरकारी निवास पनि आज नै छोड्ने तयारी गर्नु भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारा अवस्थमा पनि सरकारमा बसेर काम गरेको भन्दै मन्त्री खतिवडालाई धन्यबाद दिनुभएको छ । त्यस्तै, उहाँले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत समेत गर्नुभएको छ ।

नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताउनुभएको छ । उहाँले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न र ढुक्कसँग आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन समेत दिनुभएको बताइएको छ ।