कोभिड उपचार केन्द्र बनाइँदै वीर अस्पताल

काठमाडौं – सरकारले देशकै ठूलो वीर अस्पताललाई पूर्ण रुपमा कोभिड-१९ संक्रमितका बिरामीहरुको मात्रै उपचार गर्ने अस्पतालको रुपमा परिणत गर्ने तयारी गरेको छ।

बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सह-कुलपति समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र न्याम्स, वीर अस्पतालका उपकुलपति, निर्देशकसहितको पदाधिकारीको बैठकले वीरलाई कोरोनाका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउने टुंगो लगाएको हो ।

कोभिड-१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा फ्ल्याटमा व्यवस्थापन गर्ने र वीरमा कोभिडका बिरामी मात्रै राखेर उपचार गर्ने तयारीमा लागेको अस्पतालले जनाएको छ।