December 6, 2024, Friday
२०८१ मंसिर २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

प्रदेश १ मा ६० दिनभित्र २ सय ८९ जनाले गरे आत्महत्या

प्रदेश एकमा गएको असार १५ देखि भदौ १५ सम्मको ६० दिनभित्र २ सय ८९ ले आत्महत्या गरेका छन्‌। गएको चैत ११ देखि असार १५ सम्मको अवधिमा प्रदेशभर ३ सय ८६ जनाले आत्महत्याका घटना भएका थिए।

तर, पछिल्ला दुई महिनाको अवधिमा यो संख्या बढेर ६ सय ७५ पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  प्रहरीको तथ्याङ्क अनुसार आत्महत्याका घटनामा १८ वर्ष मुनिका बालबालिकाहरुको संलग्‍नता पनि अधिक रहेको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै सरकारले गरेको पहिलो लकडाउनको अवधिमा आत्महत्याका घटनामा संलग्न २ सय ५ पुरुष एक सय ३० महिला,एक सय ५ बालक र १९ बालिकाले मृत्युवरण गरेका थिए। सबैभन्दा बढी खोटाङमा एक सय २१ आत्महत्याका घटना भएका छन्‌।

जसमा झुण्डिएर आत्महत्याका गर्नेको संख्या मात्र एक सय १७ वटा रहेका छन्। गएको आर्थिक वर्षमा प्रदेशभर कुल एक हजार दुई सय ३७ जनाले आत्महत्या गरेको घटना प्रहरीको तथ्याङ्क छ। 

डिप्रेसन नै मुख्य कारण : चिकित्सक कोरोना भाइरससँगै जीवन कसरी चलाउने भन्ने डर, त्रास र रोजगारी गुम्नुजस्ता कारणले आत्महत्या बढेको चिकित्सकहरुको दाबी छ। 

विभिन्न कारणले आर्थिक संकट विकराल बन्दै जाँदा मानिसमा निराशा उत्पन्न भई आत्महत्या गर्नेको संख्या बढेकाले व्यक्ति आफैँ र घरपरिवार सचेत बन्नुपर्ने चिकित्सक सल्लाह दिन्छन्‌। कोशी अस्पतालका मानसिक रोग विषेशज्ञ डा. नितेशराज भण्डारीका अनुसार कोरोनाबाट पीडितमा अनेक किसिमका मानसिक रोग बढिरहेको छ।

अस्पतालमा पनि उपचारका लागि आउने नयाँ बिरामीको संख्या ह्वात्तै बढेको छ। आत्महत्या गर्ने अवस्थामा पुग्नुका पछाडि धेरै कारणहरू भएपनि आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै हुने गरेको र त्यसबाट उत्पन्न समस्याले धेरैजसो मानिसले आत्महत्याको बाटो रोज्ने गरेको डा. भण्डारीको भनाई छ।

कोरानाको त्राससँगै लकडाउन अवधिमा मानसिक समस्या भएका मानिसले बजारमा सहज रुपमा औषधी नपाएको र नियमित औषधी सेवन गर्न नपाउँदा थप समस्या निम्त्याएको चिकित्सक भण्डारी बताउँछन्।