वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

भदाै १७, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले पार्टीका अरू नेताहरूबाट प्रस्तावित सांसदका रूपमा हुँदै आएको छ । गौतमलाई सांसद बनाउनका लागि भएको यो २२ औं पटकको चर्चा हो ।

त्यसअघि पनि गौतमलाई ओलीले सोही प्रस्ताव गरेका थिए तर गौतमबाट जवाफ पाइसकेका थिएनन् । सोमबार भने गौतमले स्पष्टै रूपमा अहिले प्रतिनिधिसभाको चुनाव हुने सम्भावना नरहेकाले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने फागुन १४ को सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न प्रस्ताव गरे ।

‘केपीजीबाट सोमबार र दुई दिनअघि पनि प्रतिनिधिसभामा डोल्पाबाट चुनाव उठ्न प्रस्ताव आएको थियो, मैले स्वीकार गरिनँ,’ गौतमले मंगलबार कान्तिपुरसँग भने, ‘कोरोनाकालभरि चुनाव हुँदैन, कोरोना सकिने बेलामा स्थानीय तहको चुनाव सुरु हुन्छ । त्यसपछि आमचुनाव हुन्छ । किन जान पर्‍यो ? मन्त्री बनाउनुहुन्छ, म एकदम राम्रोसँग तपाईंलाई लोकप्रिय बनाउँछु । बनाउनुहुन्न भने पनि राष्ट्रिय सभामा आफ्नो भूमिकामा रहन्छु भनेको छु ।