‘संक्रमितलाई बहिष्कार होइन, माया गरौंं’: नायिका थापा
काठमाडौँ – कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि छपक्कै छोइसकेको छ ।
दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । संक्रमणले भयावह रुप लिन थालेपछि गएको हप्ताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । तर, संक्रमितको संख्या घटेको छैन । यो अवस्थामा सबैलाई सावधानी अपनाएर घरमा बस्न सरकारले आग्रह गरिरहेको छ ।
अहिले समाजमा कोरोना संक्रमितलाई ठूलो अपराध गरेजस्तो दुर्व्यवहार गर्ने प्रवृति देखिएको छ । उनीहरुलाई घृणाको नजरले हेर्ने गरिन्छ । संक्रमित कोही रहरले हुँदैन र संक्रमित हुनु अपराध गर्नु पनि होइन ।
तर, समाजमा अपराध गरेझैं संक्रमितलाई दुर्व्यवहार गरेका खबरहरु बाहिर आइरहेका छन् । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहार हुने गरेको छ ।
अभिनेत्री रेखा थापाले संक्रमितलाई सबैले माया गर्न आग्रह गरेकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘कोरोना संक्रमितलाई बहिष्कार गर्ने होइन, संक्रमक भाइरसबाट सचेत रहौं । संक्रमित व्यक्तिलाई हामी सबैले झन धेरै माया गरौं (सावधानी साथ) । भाइरस नसर्ने तरिकाले सम्मान र सद्भाव देखाऔं ।’
स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई उच्च सम्मान गर्न पनि उनको आग्रह छ ।

प्रतिकृया दिनुहोस्