जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक : डोनाल्ड ट्रम्प
भाद्र १३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको लागि रिपब्लिकन पार्टीबाट भएकाे आफ्नाे मनोनयन स्वीकार गरेका छन् । तर ट्रम्पले आफू एक्लैले समाजवाद, अराजकता र अतिवादजस्ता शक्तिको विरुद्ध पर्खाल बनेर उभिने बताए छन् ।
यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी बनेका छन् ।
ह्वाइट हाउसको परिसरमा स्थानीय समय अनुसार बिहीबार राति भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाए ।
एक घण्टाभन्दा बढी समय सम्बोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी गरेका थिए । कोरानाभाइरसको संक्रमणबाट अमेरिकामा मात्र एक लाख ८० हजारभन्दा बढीको मृत्यु भए पनि राष्ट्रपति ट्रम्पले आफूले चालेका सकारात्मक कदमका कारण अझ ठूलो क्षति हुन नपाएको दाबी गरे ।
अमेरिकाले अहिले अभूतपूर्व जातीय आन्दोलन, आर्थिक मन्दी र राष्ट्रिय स्वास्थ्य आपतकाल परिस्थितिको सामना गरिरहे पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको भविष्य निकै उत्साहप्रद रहेको जिकिर गरे । ‘तर यो उत्साहलाई कार्यरुपमा परिणत गर्न आफूले पुनः चार वर्षका लागि विजयी हुनै पर्ने अवस्था छ,’ उनले भने ।
उनले पूर्व उपराष्ट्रपति जो बाइडेनले विगत ४७ वर्षमा राष्ट्रलाई पुर्याएका क्षतिलाई उल्ट्याउन आफूलाई चार वर्ष लागेको पनि बताए । जो बाइडेनले विगतमा सिनेटर र पूर्व उपराष्ट्रपतिका रुपमा सार्वजनिक सेवा गरेका थिए । राष्ट्रपति ट्रम्पले जो बाइडेनलाई जिताउन चीनले समर्थन गरेको समेत बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण चुनावी कार्यक्रमहरु भर्चुअल बैठक, छलफल र टेलिभिजन सम्बोधनमा सीमित रहे पनि राष्ट्रपतिका दुबै आकाँक्षीले आगामी सातादेखि चुनावी प्रचारलाई तिब्र बनाउने जनाएका छन् । हाल डिलावेयरस्थित आफ्नै निवासमा रहेका भएका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चाँडै चुनावी अभियान शुरु गर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको खोप चाँडै उपलब्ध हुने बताउँदै कोरोनाभाइरस महामारीमा विजय हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । चार दिनसम्म चलेको रिपब्लीकन पार्टीको अधिवेशनमा बोल्ने अधिकांश वक्ताले पनि कोरोनाभाइरस महामारी अब इतिहास भइसकेको बताएका थिए ।
प्रतिकृया दिनुहोस्