बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

भाद्र १३, बाँके । बाँकेमा पुनः सातामा दुई दिन निषेधाज्ञा लागु गरिने भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित थपिँदै गएपछि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिने भएको हो ।

लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितहरू थपिँदै गएपछि निषेधाज्ञाको विकल्प खोजिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । कोरोना संक्रमणको दर उकालो लाग्दै गर्दा विशेषखालको सुरक्षा सतर्कता अपनाईने पनि उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमणको जोखिम रहँदासम्म बाँकेमा हरेक हप्ता शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिने भएको हाे । बाँकेमा तेश्रोपटक यसरी निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको हाे ।

जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले अबदेखि हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा लगाउने निर्णय गरेको हो । बाँकी पाँच दिन भने खुल्ला गरिने बैठकले निर्णय गरेको छ ।

बाँकेमा हालसम्म क्वारेन्टाइनमा १७८ जना रहेका छन् । यस्तै आइसोलेसनमा २७६ जना, कोरोना पोजेटिभ ९७५ जना र निको भएका ६९३ जना रहेका छन् । मृत्यु भएका भने ६ जना रहेका छन् ।

हालसम्म बाँकेमा १९ हजार १७८ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ । अहिले जिल्लामा आइसोलेसन बेड ६३ वटा, आइसियु बेड ५३ वटा र भेन्टिलेटर २१ वटा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताउनुभयो ।

कोरोनाका कारण स्वास्थ्यमा धेरै समस्या भएका २ जनालाई आईसियुमा राखेको समेत प्रजिअ कुरुम्वाङले जानकारी गराउनुभयो । यस्तै बाँकेमा शनिबार १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।