किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना गोप्य राख्यो !

भाद्र ११, काठमाडाैं । ललितपुरस्थित किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको सूचना लुकाएको जनाइएको छ । धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै होम आइसोलेसनमा बसेर निको भएपछि काममा फर्किन थालेसँगै स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको जनाइएको हो ।

श्रोतका अनुसार बिरामीको चाप घट्ने चिन्ताले अस्पताल प्रशासनले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त मेडिकल कलेजमा प्रसुति विभागका एक चिकित्सक, फिजियो थेरापी विभागका कर्मचारी, मेडिकल विभागका चिकित्सक, आवासिय चिकित्सक, एक्स-रे विभागका कर्मचारीलगायतका कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ ।

उक्त मेडिकल कलेजमा कोरोनाका बिरामीहरु करिब २० जनाको हाराहारीमा भर्ना भएका छन् । त्यस्तै, केही बिरामीहरुले महँगो शूल्कका कारण अस्पताल भर्ना हुन नसकेर जटिल अवस्थामा पनि घरमै आइसोलेसनमा बस्न बाध्य भएका गुनासो स्वास्थ्य मन्त्रालयसमक्ष गरेका जानकारी गराइएको छ ।

किष्ट मेडिकल कलेजको क्याबिनमा भर्ना हुन १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने बताइएको छ । त्यसोत, सामान्य बेडमा समेत ५० हजार चाहिने भएकाले केही विरामीहरु भने होम आइसोलेशनमा बसिरहेका जनाइएको छ ।

हाल उक्त अस्पतालको क्याबिनमा १० जना भन्दा बढी र सामान्य बेडमा पनि कोरोना संक्रमित बिरामीहरु भर्ना गरिएका बताइएको छ । कोरोना महामारीका कारण बिरामीको खडेरी परेको र अहिले कोरोनाका बिरामी भर्ना भएपछि उनीहरुबाट मोटो रकम असुल गर्ने उद्देश्य राखेको विरामीहरुको गुनासो छ ।