अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव आएको छैनः सरकारका प्रवक्ता

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै प्रक्रिया अघि नबढेको जनाएको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुन: नियुक्ति गर्ने प्रस्ताव नै अघि नबढेको बताएका छन्। मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्‍चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।

‘प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै निर्णय भएको छैन। कुलमानलाई सामाजिक सञ्‍जालले नियुक्ति दिएको होला तर सरकारले कुनै निर्णय गरेको छैन’, उनले भने, ‘अझैसम्म औपचारिक प्रस्ताव आइसकेको छैन।’ उनले सामाजिक सञ्‍जाल र केही अनलाइनमाहरुमा आएका समाचारमा कुनै सत्यता नभएको स्पष्टीकरण दिए। ‘त्यो लेखाइ र बोलाइमा कुनै पनि सत्यता छैन’, उनले भने, ‘अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव नआएको जानकारी गराउँछु।’

प्राधिकरणको बेथिति हटाएर देशलाई १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेका कुलमानको म्याद यही भदौ २९ मा सकिँदैछ। यस्तोमा प्राधिकरणमा समस्या आउन नदिन उनैलाई त्यहाँ राख्‍नुपर्ने जनदबाबबीच सरकारले प्रक्रिया नै अघि नबढेको भनेको हो।