उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ।

काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो। चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। उनका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ। यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता कम्पनी हायर गरिने र ती कम्पनीले आगामी चार/पाँच महिनामा यसको डिजाइन तयार गरिसक्नेछन्।

डिजाइन तयार गर्ने प्रक्रियामा सडक विभागका प्रतिनिधिको पनि संलग्नता रहने बताइएको छ। सोहीअनुसार सडक विभागको टोलीले ट्रम्स अफ रिफ्रेन्स (टिओआर) तयार पारिरहेको छ। टिओआर परामर्शदाता कम्पनीलाई अध्ययनका लागि दिइने प्रस्तावना हो।

‘यसको डिजाइन तयार भएर विभागमा आइसकेपछि ठेक्का सम्झौतामार्फत् निर्माण शुरु हुनेछ,’ महानिर्देशक शर्मा भने, ‘चालु आर्थिक वर्षमा नै ती स्थानमा फ्लाइओभर निर्माणको कार्य शुरु हुनेछ।’ चालू आर्थिक वर्षमा सरकारले उपत्यकामा फ्लाइओभर निर्माणका बजेट समेत छुटाएको छ। आगामी वर्ष तीनवटै फ्लाइओभर निर्माण सक्ने लक्ष्य विभागले लिएको छ। 

चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको चक्रपथमा सरकार आफैंले फ्लाइओभर निर्माण गर्न लागेको उनले बताए। अहिले ८ लेनको सडक छ भने बीचमा मुख्य ४ लेन छ। ४ लेनको सीधा सडकमा हिँड्न फ्लाइओभर निर्माण गरिने महानिर्देशक शर्माको भनाइ छ। ‘उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत् ‘फ्लाइओभर’ निर्माण हुने भएपनि ती स्थानमा सरकारको आफ्नै लगानीमा निर्माण हुनेछ,’ उनले भने, ‘सरकारको लगानीमा निर्माण हुन लागेको यी नै पहिलो फ्लाइओभर हुनेछन्।’

चक्रपथ आठ लेनको भएपनि मुख्य मुख्य चोकमा सवारीसाधन जाममा बस्नुपर्ने बाध्यता छ। कलंकी चोकमा अण्डरपास निर्माण गरिएका कारण जाम घटेपनि ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा जामको समस्या छ भने सवारीसाधन वारपार गर्दा दुर्घटनाको जोखिम त्यतिकै बढेको छ।

सोही समस्यालाई मध्यनजगर गर्दै मुख्य लेनमा आउजाउका लागि फ्लाइओभर निर्माणको योजना अघि सारिएको विभागले जनाएको छ। डिपीआर तयार भएपछि मात्र फ्लाइओभर कस्तो मोडेलमा निर्माण हुने भन्ने तय हुनेछ।