पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

भाद्र १०, म्याग्दी । पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना, फगामका १७ परिवार विस्थापित भएका छन् । पटकपटक आएको पहिरोले उनीहरू सबैका घर भत्काइसकेको छ ।

बस्ती नै बग्न थालेपछि ती घरका १ सय २१ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा प्लास्टिकको गोठ बनाई सुरक्षित स्थानमा सारिएको छ ।

स्थानीयका अनुसार पहिरोले हरेक दिन घर–खेत बगाइरहेको छ । बारीमा लगाएको मकै, कोदो, सीमी पनि जोगिएन । अहिलेसम्म सुन्तलाका तीनवटा नर्सरीसमेत बगिसकेका छन् । फगाम जिल्लामै सबैभन्दा बढी सुन्तलाको बेर्ना र लेकाली सिमी उत्पादन गर्ने बस्ती हो ।

‘पहिरोले पुर्खाको थलोबाट उठिबास लगायो । थातथलो छोड्न मनले मान्दैन तर बस्ने अवस्था पनि छैन,’ स्थानीय फकबहादुर गर्बुजाले भने, ‘तलबाट मोटरबाटो खनेपछि पहिरोले तान्यो, अति पानी परेपछि माथिबाट पनि बग्दै आयो । ठूलो परिवार प्लास्टिकको छाप्रोमा रात बिताउन सकस भएको छ ।’

भिरालो पाखामा रहेको फगाम बस्तीको फेदमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक ११ मिटर चौडा बनाउन भित्तो डोजरले भत्काइँदा वर्षामा पहिरो जान थालेको हो । ‘जस्तै पटमूर्खले पनि घटनास्थल हेरेपछि भन्छ, बेनी–जोमसोम सडक विस्तार क्रममा गरिएको चरम लापरबाहीले नै बस्ती बग्न थालेको हो,’ गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजाले भने, ‘बस्तीदेखि माथि जंगलछेउको पाखामा बस भन्दा गाउँले मान्दैनन्, तर सडकछेउमा सार्वजनिक जग्गा नै छैन । बस्ती पुनःस्थापना कसरी गर्ने अध्ययनमा छौं ।’