मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

भाद्र १०, वीरगन्ज । मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको छ ।
बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले वीरगन्जको माईस्थान र मीनाबजारस्थित तरकारी तथा फलफूल पसलहरूको अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तीन जना पसल सञ्चालकलाई कारबाही गरिएको जनाए । ‘बुधबारको अनुगमन तरकारी तथा फलफूलमा मात्र केन्द्रित थियो,’ उनले कान्तिपुरसँग भने, ‘मूल्यवृद्धि तथा कालोबजारीविरुद्ध निरन्तर अनुगमन गरिनेछ ।’
अनुगमनमा मूल्य सूची नराखेका तथा बिल उपलब्ध गराउन नसकेकाहरूलाई १० हजारदेखि लिएर २० हजार रुपैयाँसम्म जरिवाना गरिएको जिल्ला प्रशासनले जनाएको छ । चन्द्रकिशोर ट्रेडर्स मीनाबजारलाई २० हजार, शिव देवी ट्रेडर्स मीनाबजारलाई २० हजार र माँ जगदम्बा फ्रुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
टोलीले तरकारी तथा फलफूलको कालोबजारी र मूल्य वृद्धि नगरी बिक्री–वितरण गर्न निर्देशन पनि दिइएको छ । कोरोना महामारीको समयमा कुनै वस्तुको कालोबजारी गरिएको देखिए आवश्यक प्रमाणसहित कार्यालयमा इमेलमार्फत पनि उजुरी गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्