December 6, 2024, Friday
२०८१ मंसिर २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

भाद्र १०,एजेन्सी । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको र स्थिती अझ भयावह हुने बताएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा। जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त कुरा बताउनुभएको हो ।

भ्यानडिलिएरले आफूहरुको अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुनसक्ने देखाएको बताउनुभयो । उहाँले यो सुरुवात मात्र भएको भन्दै अरु निकै केसहरु बढ्ने अवस्था रहेको र आगामी दिनहरुमा परिस्थिति जटिल बन्ने बताउनुभयो ।

उहाँले नेपालमा अझै संक्रमितको संख्या वृद्धि भई जटिल परिस्थिति आउने बताउदै नेपालमा शुरुका दिनमा विदेशबाट आएका व्यक्तिबाट संक्रमण देखिएको तर अहिले ज्येष्ठ नागरिक, युवा, बालबालिकालाई समेत संक्रमण फैलिसकेको बताउनुभयो ।

उहाँले यस्तो समयमा स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मी तथा अस्पतालहरुको भूमिका पर्याप्त हुन नसक्नु प्रमुख चुनौती रहेको समेत बताउनुभयो । भेन्डिलियरले नेपालमा अधिकांश अस्पताल कोरोनामा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

आम नेपाली लगायत नेपालमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरुले अनिवार्यरुपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरीको कायम, बेलाबेलामा साबुनपानीले हात धुनेलगायतका सुरक्षाका उपाय अपनाउन सचेत गराउनुभयो ।

कोभिड १९ विरुद्धको लडाईंमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने भ्यानडिलिएरको सुझाव थियो । उहाँले सरकारले मात्रै नसक्ने भएकाले सबैपक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय सरकारको भूमिका पनि प्रभावकारी रुपमा हुनुपर्ने उहाँको थप सुझाव थियो । कोरोना संकटमा विश्व स्वास्थ्य संगठनले नेपाललाई निरन्तर सहयोग गरिरहने उहाँले आश्वासन दिनुभयो ।

नेपालमा हिजो मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १ सय १ जना निको भएका छन् भने १ सय ६४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।