बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

भाद्र ९, धरानमा पहिलोपटक काेराेना संक्रमित एक महिलाको सफल डेलिभरी गराइएको छ । कोराना संक्रमण भई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको कोभिड विशेष अस्पतालमा नर्मल डेलिभरी गराइएको हो ।
मोरघको विराटनगर- २ की २० वर्षीय महिलाको सोमबार राति प्रतिष्ठानको स्त्री तथा प्रसुति रोग विभागका डाक्टर सुर्यप्रसाद रिमाल (एसपी रिमाल)नेतृत्वको टिमले नर्मल डेलिभरी गराएको हो ।
डेलिभरीमा संलग्न डाक्टर रिमालको टिममा डाक्टर हिमाल गिरी, मुकेज झा र नर्स सिनिन अधिकारी रहेका थिए । ती महिलाले २.८ केजी ताैलकी छोरी जन्माएकी हुन् । हाल उनको र शिशु दुवैको स्वास्थ्य स्थिति सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता प्राध्पापक डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

प्रतिष्ठानमा कोरोना संक्रमित महिला डेलिभरी भएको यो पहिलोपटक हो । गर्भवती महिलाको भदौ ३ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियाे । उनलाई भदौ ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।
यसैबीच प्रतिष्ठानको कोभिड अस्पतालमा ओटी कक्षमा अपुग रहेका सामान रुटिन ओटी कक्षबाट लगेर कोभिड ओटी पूर्ण रुपमा सञ्चालनमा ल्याउने काम भइरहेको कोभिड ओटी युजर्स कमिटिका सदस्य सचिव डा. विकास साहले जानकारी दिए । बुधबारबाट नै सञ्चालनमा आउने उनकाे भनाइ छ ।
यसका साथै प्रतिष्ठानको प्रायोशालमा गरिएको परिक्षणमा थप ४१ जनाको काेराेना रिपोर्ट पोजेटिभ आएको पनि प्रतिष्ठानले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ सय ५ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस्