कोरोना बीमा गर्नेको सङ्ख्या साढे सात लाख

भदौ ६, पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।
सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि २६० भन्दा माथि लागेको छ ।
सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भन्नुभयो, “यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ । ”
वैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सङ्ख्या उल्लेख्य बढेको हो । त्यसो त दुई-चार वर्षको अवधिमा बीमा व्यवसायले नै फड्को मारेको छ । समितिको असार महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारसहित २७ प्रतिशत जनतामा बीमा पुगेको छ । कोरोना बीमाले गाउँगाउँसम्म एउटा लहर पनि ल्याएको समितिले जनाएको छ ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ पनि कोरोना बीमा कार्यक्रमले मान्छेको जीवनमा बीमा पनि अभिन्न अङ्ग हो भन्ने कुरा बुझाउन मद्दत गरेको बताउनुहुन्छ । कोरोना महामारीले बीमाको महत्वलाई बुझाएको भन्दै उहाँले सर्वसाधारणको आकर्षण पनि उल्लेख्य बढेको बताउनुभयो ।
बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीले दाबी भुक्तानी गर्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्