अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने

भदौ ५ काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने भएको छ ।काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी बिश्वराज पोखरेलले निर्देशन दिनुभएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेपछि विभिन्न सामग्री लिएर आएका मालबाहक ट्रकहरु नाकामै नै अलपत्र परेका छन्, भने चालकहरू भोक–भोकै बस्नु परेको समाचार सार्वजनिक भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाले सहजिकरणका प्रयास गर्नुभएको थियो ।
अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडालगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा निषेधाज्ञा जारी भएसँगै रोकेपछि अलपत्रमा परेका र सहजीकरणका लागि सामग्री खाली गरेर नियम अनुसार सञ्चालन गर्ने सहमतिमा छाड्न निर्देशन दिएको डीआईजी पोखरेलको भनाइ छ ।
नौविसे–नागढुङ्गा अन्तर्गत त्रिभुवन राजपथको सडक दायाँबायाँमा रहेका ५ सयभन्दा बढी ट्रक बिहीबारदेखि पार्किङ्ग गरेर राखिएको थियो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सहजीकरण गर्न पहल भइरहेको बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्