नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो
काठमाडौं- नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्सामा एक महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको छ ।
यसअघि हिजो बुधबार काठमाडौं र बर्दियामा एक-एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक जना महिला गरी ६ जनाको कोरोनाले मृत्यु भएको थियो।
त्यसैगरी मंगलबार एकैदिन ७ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको थयो ।
मन्त्रालयका अनुसार यसअघि गत सोमबार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्