अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरेसंगै उपत्यका सुनसान

काठमाडौं – उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरेसंगै उपत्यका सुनसान बनेका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।

सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ । निषेधाज्ञाले गर्दा छिटफुट अत्याश्यक बाहेक अन्य कुनै किसीमका सवारी साधन सञ्चालन भएका छैनन् । सडक मा मानिसहरुको उपस्थीती पनि एकदमै पातलो छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम आदेश जारी भएको हो ।

जिल्ला प्रशासन कार्याल काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।