संसारकै पहिलो काेराना बिरुद्धकाे भ्याक्सिन डिसेम्बरमा आउने
काठमाडौँ – चीनले संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन डिसेम्बरसम्म बजारमा आउने जनाएको छ । यसअघि रुसले सार्वजनिक गरेको भ्याक्सिनले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन । रुस आफैले चिनियाँ भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा सघाइ रहेको छ ।
चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले सिनोफार्मले तयार गरेको भ्याक्सिन आउँदो डिसेम्बर महिनासम्ममा बजारमा आउने जनाएको छ । त्यसको मूल्य १ हजार युआन अर्थात १६ हजार नेपाली रुपैयाँ पर्नेछ । यो दुई डोज अर्थात पुरै डोजका लागि पर्ने मूल्य हो ।ग्लोबल टाइम्सले बजारमा आइसकेपछि यो भ्याक्सिनको मूल्य ओरालो लाग्ने जनाएको छ । सिनोफार्मका अध्यक्ष लियु जिङ्ग जेनले क्लिनिकल परीक्षणपछि यसको मार्केटको समीक्षा गरिने बताएका छन् । उनले चिनियाँ सबै नागरिकलाई यो भ्याक्सिन दिइने बताएका ग्लोबल टाइम्समा उल्लेख छ ।
सिनोफार्मले दुईवटा भ्याक्सिन बनाइरहेको छ । अहिलेको भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छ । युएइबाट यसको तेस्रो चरणको परीक्षण सुरु गरिएको थियो । चीनले सुरुवातमा सहरी क्षेत्रका बासिन्दालाई यो भ्याक्सिन लगाउने भएको छ । अहिले सिनोफार्मले बनाएका दुई मध्ये कुनै एकको दुई डोज लिएमा कोरोना संक्रमण हुँदैन । यसको साइड इफेक्ट पनि छैन । अहिलेसम्म तेस्रो चरणको परीक्षणमा रहेका पाँचमध्ये तीनवटा चिनियाँ भ्याक्सिन अरुको तुलनामा सुरक्षित र कम साइड इफेक्ट भएका भ्याक्सिन हुन् । बेलायत र अमेरिकी कम्पनीले पनि थप एक एक भ्याक्सिन तेस्रो चरणमा परीक्षण गरिरहेका छन् ।
बेइजिङमा सुरुवाती चरणमै १२ करोड डोज बनाउन थालिएको छ । सिनोफार्मले तेस्रो चरणको मानव परीक्षणका क्रममा भ्याक्सिन पूर्ण सफल देखिएको जनाएको छ । तर, तेस्रो चरणको अन्तिम नतिजा भने आउन बाँकी नै छ ।
सिनोफार्मका अनुसन्धानकर्ताले पहिलो र दोस्रो चरणको परीक्षणको रिपोर्ट राम्रो आएको तथा अहिलेसम्म तेस्रो चरणको नतिजा पनि उत्साहजनक रहेको बताएका छन् । जुनदेखि संयुक्त अरब इमिरेट्सबाट तेस्रो चरणको परीक्षण थालिएको थियो ।चीनले यसअघि क्यानसिनो कम्पनीले कोरोनाविरुद्धको भ्याक्सिनको पेटेन्ट राइट हासिल गरिसकेको छ । यो संसारकै पहिलो कम्पनी हो । चीनमा उत्पादन भएका भ्याक्सिनको तेस्रो चरणको परीक्षण पाकिस्तानमा पनि हुने भएको छ ।स्रोत नागरिक खबर
प्रतिकृया दिनुहोस्