प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षमा भण्डारी

काठमाडौँ – सरकारले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल) लाई तोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । यसअघि सञ्चार मन्त्रालयले भण्डारीलाई काउन्सिलका सदस्यमा नियुक्त गरेको थियो । भण्डारी २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आउनुभएको छ ।

झापा भद्रपुर नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आउनुभएको छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उहाँ कानून व्यवसायी पनि हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालका सचिव र सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्षको पनि जिम्मेवारीमा रहनुभयो । यसैगरी काउन्सिलका सदस्य पदमा पत्रकार दीपक पाण्डेले नियुक्त हुनुभएको छ ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा लेखा संयोजक रहिसक्नुभएका पाण्डे दृष्टि साप्ताहिक र प्रकाश साप्ताहिकको सम्पादकका रुपमा काम गरिसक्नुभएको छ । उहाँ हाल जनता टेलिभिजनको सम्पादक सल्लाहकारका रुपमा रहनुभएको छ । पाण्डेले सोमबार काउन्सिलमा शपथ ग्रहण गरिसक्नुभएको छ ।