तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

भदाै २, मुगु। मुगु जिल्लाकाे सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दुरीको पर्यटकीय मार्ग निर्माणको कार्यलाई तीव्रता दिइएको छ ।
छायाँनाथ–रारा नगरपालिका वडा नं ९ मा रहेको ताल रारा जान गमगढीबाट रारा विमानस्थलसम्म ९ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म ३ किमी भएर १२ किमी पार गर्दै पुग्नुथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्मको ७ किमी दुरी मात्र हुने छोटो सडक निर्माणलाई तीव्रता दिएको छ । यसको निर्माणपछि पर्यटकलाई रारा पुग्न सजिलो हुनेछ ।
पर्यटकहरु कर्णाली राजमार्ग भएर रारा आउने र दुरी टाढा हुँदा सदरमुकाम गमगढी नझरेर फर्कने गर्दै आएका छन् । सदरमुकामको सिरानमा देशकै प्रमुख पर्यटकीय स्थल भएर पनि त्यसको फाइदा गमगढीका व्यापारी र स्थानीय बासीले लिन सकेका छैनन् ।
अब सदरमुकामबाटै छोटो दुरीको पर्यटकीय मार्र्ग निर्माण सम्पन्न भएमा रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला सदरमुकाम भएर सीधै रारा जान–आउन सक्नेछन् ।
देशकै प्रमुख पर्यटकीय स्थल रारामा खान र बस्नको भरपर्दो व्यवस्था नहुँदा ‘स्वर्गमा आएर पनि गाँसबासको समस्या भोग्नुपरेको’ पर्यटकहरुले गुनासो गर्दै आएका थिए ।
सदरमुकामबाटै छोटो दुरीमा रारा पुग्ने पर्यटकीय यो सडक निर्माण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधासम्पन्न होटलहरुमा पर्यटकहरु बास बस्न, रारा घुमेर पुनः बास बस्न सदरमुकाममै फर्कन सजिलो हुनेछ ।
रारा तालबाहेक अन्य पर्यटककीय स्थलहरुको विकास र प्रचार–प्रसार नहुँदा पर्यटकहरु बसाइँ छोटाएर फर्कने गरेका थिए । सदरमुकाम बसाइ भएमा यहाँ रहेका कालिका–मालिका मन्दिर, छायाँनाथ, ऋणमोक्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनुका साथै रु १ मा अंकिल चंखेली हिमालको दृश्यावलोकन र भ्रमण समेत गर्न सक्नेछन् । यसले गर्दा पर्यटकहरुको बसाइ लम्बिनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार हुने र स्थानीयहरुमा पनि आर्थिक गतिविधि बढ्नेछ ।
यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जादा बाटोमा पर्ने तलितुम, सायाँखोला र माथीतुम गाँउहरुको ग्रामीण रहनसहन, चालचलन, धर्म–संस्कृतिहरु पनि अवलोकन गर्न पाइनेछ । साथै यो मार्गको निर्माणले ग्रामीण पर्यटनमा पनि टेवा पुग्ने देखिन्छ ।
रारा घुम्न आउने पर्यटकहरुलाई सदरमुकामतर्फ तान्न र अन्य धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुमा ध्यान केन्द्रित गराई मुगु बसाइ लम्बाउन उद्देश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारा पर्यटकीय मार्ग निर्माण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनुभयो ।
गत आर्थिक वर्षमा नगरपालिकाले यो मार्ग निर्माणका लागि ५९ लाख रकम विनियोजन गरेको थियो भने यो वर्ष पनि उक्त मार्गलाई निरन्तरता दिई निर्माणका लागि बजेट छुट्याएको छ ।
स्थलगत अनुगमन गर्दा काम सन्तोषजनक पाइएको र चालु आवमा सम्पन्न हुनेगरी कामको रफ्तार बढाउन निर्माण उपभोक्ता समितिलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताउनुभयो ।
यो मार्ग निर्माणका लागि विगतमा पटकपटक विभिन्न जिल्लास्तरीय बैठक र फोरमहरुमा कुरा उठाइएको थियो । बल्ल नगरपालिकाबाट सदरमुकाम बासीहरुको सपना पूरा हुन लागेको र यो मार्ग संचालनमा आएमा सदरमुकाममा रहेका होटेल तथा अन्य व्यवसायहरु फस्टाउने उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताउनुभयो ।
यो पर्यटकिय मार्ग निर्माणका लागि छायाँनाथ–रारा नगरपालिकाले आर्थिक वर्ष ०७४\०७५ मा ५ लाख, ०७५\०७६ मा २० लाख र गत आवमा ५० लाख छुट्याएर खर्च गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्