तत्काल को लागी काम नगर्न लगानी बोर्डका सिईओ भट्टलाई अदालतको आदेश

समउन २८, उच्च अदालतले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई तत्काल काम नगर्न अन्तरिम आदेश दिएको छ ।
भट्टको नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै निर्णयको खारेजीका लागि परेको रिटको सुनुवाईमा पाटन उच्च अदालतले मंगलबार यस्तो आदेश दिएको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले तत्कालका लागि काममा रोक लगाउँदै साउन ३२ गते दुबै पक्षलाई छलफलका लागि अदालतमा बोलाएको छ । यस्तै उक्त मुद्दामा एकिकस क्युरीका रुपमा अदालतलाई सहयाेगीका रुपमा झिकाउने आदेश समेत भएको छ ।
अधिवक्ता जयबहादुर भुजेलले भट्ट नियुक्तिको निर्णय कानुनबमोजिम नभएको दावी गर्दै रिट दायर गरेका थिए । अदालतमा रिट दर्ता भएको जानकारी अदालतका रजिष्ट्रार बाबुराम दाहालले अन्नपूर्ण अनलाइनलाई दिए। कालोसूचीमा परेको व्यक्ति योग्य नहुने भन्दै नियुक्ति गैरकानुनी भएको दाबी गरिएको छ।
गत सोमबारको मन्त्रिपरिषद बैठकले भट्टलाई ४ वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको छनोट समितिले भट्ट, रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम सिइओका लागि सिफारिस गरेको थियो।
कालोसूचीमा परेका बद्नाम विचौलियालाई लगानी बोर्डको जिम्मा लगाएको भन्दै पार्टीभित्रैबाट पनि नियुक्तिको विरोध भएको थियो। केही दिन अघि नेकपाका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटार पुगेर बदनाम विचौलियालाई लगानी बोर्डमा कसको डिजाइनमा ल्याएको भन्दै प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए। भट्टको नियुक्तिले पार्टी र सरकार दुबै बदनाम भएको बताउँदै यस्तो गलत कदमलाई सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस्