कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह
काठमाण्डौँ – कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो ।
कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने उहाँले बताउनुभयो । उहाँले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ । “नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ”, गेजरिडर गुरुङले भन्नुभयो, “मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ ।” नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । “हामीले सूचना प्रणालीमा रहेका सबैलाई सूचना गरिसकेका छौँ”, रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदीश्वर पण्डितले भन्नुभयो, “उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ ।” बस्तीमा बाढी पसेपछि भजनी नगरपालिकाले सोमबार बिहानैबाट जोखिममा रहेका नागरिकलाई उच्च सडकमा सार्न शुरु गरिसकेको स्थानीय उद्धारकर्ता जयप्रसाद ढुङ्गानाले बताउनुभयो । “सयौँ परिवार सडकमा त्रिपाल लगाएर बसिरहनुभएको छ”, ढुङ्गाना भन्नुभयो, “यसपटक बाढीले तहसनहस पारेको छ । नागरिकको बिचल्ली भएको छ ।” चिसापानीमा कर्णाली नदीको सतह नौ मिटर पुगे सर्तक, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ ।
सेतीमा पानीको बहाव उच्च ः सचेत हुन आग्रह डोटी– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक रहेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेत पनि कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन यहाँको प्रहरी प्रशासनले आग्रह गरेको छ ।
त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ । सेती नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्