बाँकेमा कोरोना सङ्क्रमण १२ जना सम्पर्क विहीन

बाँके – बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् ।

सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया महिला, २४ गते सङ्क्रमित पुष्टि भएका नेपालगञ्ज–१२ का २८ वर्षीया महिला र नेपालगञ्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन् । यसैगरी, साउन २४ गते सङ्क्रमित भएका नेपालगञ्ज १९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको छ ।

। साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र दुई वर्षका दुई बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन् । नेपालगञ्ज ११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताउनुभयो । पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको दाबी छ । यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले जानकारी दिनुभयो । 

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा आज गरिएको परीक्षण रिपोर्टअनुसार दुई चिकित्सक र केही प्रहरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।