मुहार फेर्दै दिग्तेल बजार
खोटाङ – पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ ।
सडक ढलान, खानेपानीको पाइप र विद्युत्को तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो । विसं २०६४ देखि यातायात सञ्चालन हुँदै आएको बजारको साँघुरो तथा कच्ची सडक तीन भागमा विभाजन गरेर ढलान भइरहेको छ । रत्नपार्कको किराँतचोकदेखि सङ्मपार्कस्थित माताको मन्दिरसम्मको ७०० मिटर र त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको ४५० मिटर सडक ढलानको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारस्थित पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने सडकखण्डको २५४ मिटर सडक ढलानको काम यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ । रत्नपार्कको किराँतचोकदेखि हाटडाँडासम्मको सडक ढलानका लागि शहरी विकास तथा भवन निर्माण विभागको लगानी रहेको छ ।
क्रमागत योजनाअन्तर्गत पर्ने उक्त सडकखण्ड ढलानका लागि विभागबाट गत वर्ष रु पाँच करोड बजेट आएको थियो । करिब रु १५ करोड लगानीमा सम्पन्न हुने उक्त सडकका लागि यस वर्ष रु नौ करोड ७० लाखको काम हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिका र १ नम्बर प्रदेश सरकारको साझेदारी कार्यक्रमअन्तर्गत रु दुई करोड लगानीमा ढलान शुरु गरिएको त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको सडकको दायाँबायाँ गमलासमेत राखिएको छ । नगरपालिकाकै लगानीमा राखिएको गमलामा स्थानीयवासी विभिन्न प्रजातिका फूल रोपेका छन् ।
सडक ढलानसँगै व्यवस्थित खानेपानी विस्तार, विद्युत् तथा टेलिफोनको तार व्यवस्थापनलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने टोकरी राख्नुका साथै जम्मा भएका फोहरलाई कम्पोष्ट मल बनाउने गरिएको छ । लामो समयदेखि खानेपानीको समस्या रहेको दिक्तेल बजारमा शहरी खानेपानी तथा सरसफाइ आयोजनाको कामसमेत तीव्रगतिमा अगाडि बढाइएको छ । आसपासका क्षेत्रका वडामा बसोबास गर्ने स्थानीय बासिन्दाको घरमा विस्तार गर्ने गरी सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा उक्त खानेपानी आयोजनाको काम शुरु गरिएको हो ।
पन्ध्रवटा वडा कार्यालय रहेको सो नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन नगरपालिका र खानेपानी आयोजनाको संयुक्त लगानीमा फायरिङ गेटसमेत जडान गरिएको छ । अधिकांश जस्तापाताको छाना भएका घर रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिएको हो ।
प्रतिकृया दिनुहोस्