मुलुकका अधिकांश स्थानमा वर्षा, तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ- आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान साढे ५ बजे जारी गरेको सूचना अनुसार पछिल्लो १ घण्टा कैलाली, कञ्चनपुर जिल्लामा भारी वर्षा भएको छ ।

भारी वर्षासँगै सो क्षेत्रका चौधर, सुहेली, मोहना, खुटिया, कान्द्रालगायत खोलामा आकस्मिक बहाब हुन सक्ने तथा होचा डुबान हुनसक्ने क्षेत्रमा सतर्क रहन केन्द्रले आह्वान गरेको छ ।

नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने साना नदीमा सोमबारसम्म नै बहाव बढ्ने भएकाले तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।