उपत्यकामा थप ८० जनामा कोरोना पुष्टि



काठमाडौं- साँझ ७ बजेसम्मको तथ्यांकअनुसार मंगलबार नै काठमाडौं उपत्यकामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी छन्।

संक्रमितहरुमध्ये एक तिहाई संक्रमित उपत्यका बाहिरबाट आएको महाशाखाले जनाएको छ। तीमध्ये पनि प्रदेश २ का सबै जिल्ला र भारतबाट आउने बढी संक्रमित छन्। 

संक्रमण देखिनेमा लकडाउनका समयमा घर गएर फर्किएकाहरु नै बढी छन्। जसमा कपाल काट्ने, तरकारी तथा फलफूल बेच्ने, मजदुरी गर्ने र अन्य व्यवसाय गर्ने व्यक्तिहरु बढी रहेका महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार केही व्यक्तिहरु भने कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा परीक्षण गर्दा संक्रमित पाइएका हुन्। 

उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या हुन थालेको छ। 

प्रदेश नम्बर २ बाट काठमाडौं छिर्नेमध्ये धेरैजना काभ्रे र भक्तपुरको साँगाहुँदै आएको देखिन्छ। जसका कारण भक्तपुरमा संक्रमित बढी देखिएको महाशाखाले जनाएको छ।