लेबनानको विष्फोटः ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

बेरुत — मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ।  

लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन्। सो विस्फोट वर्षौपछि त्यहाँ भएको भयानक विस्फोट हो।

लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन्। उनले दुई साता देशमा आपतकालको घोषणा गर्नुपर्ने बताएका छन्।

‘हामीले जे देख्यौं त्यो एकदमै ठूलो विनाश हो’ लेबनान रेडक्रसका प्रमुख जर्ज केटानीले मायादिन नामको टेलिभिजनसँग भने, ‘त्यहाँ जताततै पीडित र घाइते छन्।’