१२ वायुसेवा कम्पनीले मागे उडान अनुमति
साउन २०, काठमाडौं । कोरोना महामारीको बीचमा सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । सोहीअनुसार सोमबारसम्म एक दर्जन वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सोमबारसम्म १२ वटा कम्पनीले काठमाडौंलाई विभिन्न मुलुकका १८ शहरमा जोड्ने गरी उडान अनुमति मागेका छन् ।
यसमा स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत रहेका छन् । यसबाट कुन कम्पनीलाई कुन गन्तब्यमा कतिसम्म उडान अनुमति दिने भन्ने निर्णय भने भइसकेको छैन ।
अर्कोतर्फ सरकारले पहिलो चरणमा कुन कुन मुलुकबाट जहाज चढेर नेपाल आउन पाउने भन्ने समेत स्पष्ट नपारेका कारण प्राधिकरणले उडानको अनुमति भने दिइसकेको छैन । ‘यो कम्पनीहरुबाट आएको प्रस्ताव हो,’ उनले भने, ‘हामीले दिने अनुमति छलफलकै क्रममा छ ।’
सातामा १५८ वटा उडान गर्न अनुमति माग
सोमबारसम्म कम्पनीहरुले साताको कुल १ सय ५८ वटा उडानका लागि प्राधिकरणसँग अनुमति मागेका छन् । यसमध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सले ५७ वटा उडानका लागि अनुमति माग गरेको छ ।
दोस्रो स्थानमा एयर अरेबियाले सातामा ३५ उडानका लागि अनुमति मागेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । हिमालय एयरलाइन्सले सातामा २१ उडानका लागि अनुमति मागेको छ ।
कुन एयरलाइन्सले कुन गन्तब्यका लागि मागे अनुमति ?
एयरलाइन्स | गन्तब्य | माग उडान संख्या/साता |
टर्किस एयरलाइन्स | इस्तानबुल | १ |
सलाम एयर | मस्कट | ७ |
इण्डगो एयर | दिल्ली | ७ |
चाइना साउदर्न | ग्वाङझाउ | १ |
एयर चाइना | छेन्दु | १ |
जजिरा एयर | कुवेत | २ |
फ्लाई दुबइ | दुबई | ७ |
हिमालय एयरलाइन्स | चोङगिङ (१), दोहा (५)आवुधावी (४), दमाम (७) क्वालालाम्पुर (४) | २१ |
नेपाल एयरलाइन्स | दिल्ली (१४), बैंलौर (३), मुम्बई (७), ग्वाङझाउ (३), दुबई (७), दोहा (७), क्वालालाम्पुर (७), नारिता (३), बैंकक (३) र हङकङ (३) | ५७ |
मलेसिया एयरलाइन्स | क्वालालाम्पुर | ५ |
मालिन्दो एयर | क्वालालाम्पुर | १४ |
एयर अरेविया | आबुधावी (७), सारजाहा (२८) | ३५ |
स्रोतः नेपाल नागरिक उड्डयन प्राधिकरण
साविकको तुलनामा २५ प्रतिशत मात्र उडान
प्राधिकरणका अनुसार १ भदौमा शुरु हुने उडानमा साविकको तुलनामा कम्तिमा २५ प्रतिशत मात्र उडानलाई अनुमति दिइनेछ । अहिले आएको माग अनुसार दैनिक झण्डै २३ उडानको माग छ ।
साविकमा त्रिभुवन विमानस्थलमा दैनिक औसतः ४ सय वटासम्म राष्टिय-अन्तराष्ट्रिय उडान-अवतरण हुने गथ्र्यो । त्यसमध्ये ९० वटासम्म अन्तराष्ट्रिय उडान-अवतरण हुने गरेको छ । तर, अहिले टर्मिनलमा भिडभाड नहोस भनेर केवल २५ प्रतिशत मात्र उडानलाई अनुमति दिइने उपमहानिर्देशक क्षेत्रीले जानकारी दिए ।
अन्तर्राष्ट्रियतर्फ एउटा जहाजका यात्रु टर्मिनलबाट बाहिर निस्किएपछि अर्को जहाजलाई अवतरणको अनुमति दिने गरी अनुमति दिइनेछ । प्रस्थानमा समेत सोही अनुसार व्यवस्थापन मिलाइने भएको छ ।
आन्तरिकमा ३३ प्रतिशत उडान अनुमति
उता, आन्तरिकतर्फ सबै वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् । तर, उनीहरुले पनि वाषिर्क उडान संख्याको केवल ३३ प्रतिशत उडान मात्र गर्न सक्नेछन् ।
अर्थात् एक दिनमा १ सय वटा उडान गर्ने कम्पनीले अब दैनिक ३३ वटा मात्र उडान गर्न सक्नेछन् । सोहीअनुसार कम्पनीहरुले उडानको तयारी गरेका छन् ।
यो व्यवस्थापन अनुसार बुद्ध एयरले दैनिक २१ वटा उडानको तालीका सार्वजनिक गरिसकेको छ । यति एयरले १२ र श्री एयरलाइन्सको भागमा दैनिक ८ वटा उडानको अनुमति मिल्छ ।
साना कम्पनीले समेत साविकको तुलनामा दैनिक ३३ प्रतिशतसम्म उडान गर्न सक्नेछन् । बुद्ध एयरले पहिलो चरणमा काठमाडौबाट पोखरा, भरतपुर, विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी, तुम्लिङटार र सुर्खेतका लागि उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।
उक्त कम्पनीले विराटनगर-पोखरा र भैरहवा-पोखरा समेत उडान गर्नेछ । अन्य कम्पनीले भने आफ्नो उडान तालिका सार्वजनिक गरिसकेका छैनन् ।
प्रतिकृया दिनुहोस्