प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी
साउन२०, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् ।
बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।
नेकपा अध्यक्ष प्रचण्डलाई पनि छलफलमा बोलाएको तर उनी आइनपुगेको बालुवाटार स्रोतले बतायो । प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका छन् ।
सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ । संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिए पनि सरकारले औपचारिक घोषणा गरेको छैन । राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।
स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँगको परामर्शमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको छ भने ४ लाखको पीसीआर टेस्ट भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्