ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड झलनाथ खनाललाई लिएर बालुवाटार पुगे,सुवास नेम्वाङ पनि सहभागी

साउन १८, साउन १३ को बैठक स्थगन र प्रचण्डको अध्यक्षतामा अलग्गै बैठक बसेपछि उत्पन्न गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिन पछि संवाद शुरु भएको छ । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड आइतवार बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री निवासमा भएको दुई अध्यक्षबीचको संवादमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । प्रचण्ड यसअघि पूर्व माओवादीका नेतालाई लिएर वार्तामा जाने गरेकामा पूर्व एमालेभित्रको समेत एउटा समूहको नेतृत्व गरेको देखाउन झलनाथलाई पनि लगेका हुन् ।
साउन १३ गते निर्धारित स्थायी समिति बैठक पहिलो बरियताका अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो । सोही दिन प्रचण्डको अध्यक्षमा प्रचण्ड माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।
सो बैठकले अर्का अध्यक्ष ओलीसँग संवाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसबीचमा दुई अध्यक्षबीच संवाद गराउन महासचिव विष्णु पौडेलले खुमलटार र बालुवाटार ओहोरदोहोर गरेका थिए । प्रचण्ड ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने अडानमा छन् भने ओली दुवै पद नछाड्ने अडानमा छन् ।

प्रतिकृया दिनुहोस्