लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

काठमाडौं – लगातार परेको पानी केही दिनसम्म रोकिने भएको छ । मुलुकभर नै मौसम बदली रहेकालेविभिन्न स्थानमा मध्यम र भारी वर्षा हुने मौसमविद्हरूले जानकारी दिएका छन्‌।

अबको केही दिनसम्म देशको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ।जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको जनाएको छ। तर बेलाबेलासामान्यदेखि चर्को घाम पनि लागिरहेको छ। अबको तीन दिनसम्म विगतमा जस्तो लगातारको झरी भने नपर्ने विभागका मौसमविद्ले जानकारी दिए।

भोलि र पर्सी अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ। देशका अधिकांश क्षेत्रमा बेलाबेलामा घाम लाग्ने र मध्यमखालको वर्षा हुने मौसमविद्ले जनाएका छन् ।

प्रदेश १, २, ५, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ। आजभन्दा भोलि र पर्सी भने केही बढी वर्षा हुने भए पनि लगातार झरी नपर्ने अर्यालले बताए। यसअघि असार २५ देखि ३० गते र साउन ४ देखि ६ गतेसम्म लगातार वर्षा भएको थियो। उक्त वर्षापछि आएको बाढी, पहिरो र डुबानले मुलुकका अधिकांश क्षेत्र प्रभावित बनाएको थियो। यस्तै, साउनको १२ देखि १६ गतेसम्म पश्चिम क्षेत्रमा बढी वर्षा भएको थियो। तर विगतको जस्तो लगातार वर्षा हुन पाएन। तैपनि केही स्थानमा पहिरो खसेर मानिसको मृत्यु भएको छ भने केही हराइरहेका छन्।

आजको तुलनामा भोलि र पर्सी तराईको क्षेत्रका एक/दुई स्थानमा बढी वर्षा हुने जनाइएको छ। विगत १० वर्षको तुलनामा यस वर्ष पहिरोले धेरै मानिसको ज्यान लिएको छ।