बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

साउन १६, कपिलवस्तु । मुस्लिम समुदायको दोसो ठूलो चाड बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा पनि बृद्धि भएको छ । उक्त चाडमा खसीको कुर्बानी दिने चलन भएकाले बजारमा खसीको माग बढेको हो ।

कोरोना महामारी कारण भारतबाटसमेत खसीबोका आयात भएका छैनन्, सोही कारण बजारमा खसीबोकाको अभाव भएको हो । यस्तो अभावकाबीच बक्राईदमा खसीबोकाको मूल्यमा बृद्धि भएको ब्यापारीहरु बताउँछन । यही साउन १७ गते बक्राईद मनाइदैछ ।

मुस्लिम समुदायले ईदुजोहो अर्थात् बक्राईदमा खसीबोकाको कुर्वानी (बली) दिने चलन रहेको छ, जसको कारण अहिले जिल्लामा खसीबोका किन्ने प्रतिस्पर्धा नै चलेको छ ।

जिल्लामा एउटा खसीको मूल्य १० हजारदेखि ५० हजारसम्म पर्ने गरेको पाइएको छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बक्राईद मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउने तयारी गरेका छन् ।

जसका लागि उनीहरुले खसी खरिदसमेत गरिसकेका छन् । आफ्नो सामथ्र्यले भ्याएसम्म खसी खरिद गर्नुपर्ने भएपनि कतिपय मुस्लिमले समाजमा रवाफ देखाउन र ठूलो बन्नका लागि बढी रकम तिरेर खरिद गर्ने गरेका मुस्लिम अगुवाहरु बताउछन् ।

बजारमा महँगो र प्रतिस्पर्धा कै कारण विपन्न र गरिब मुस्लिमहरु मर्कामा पर्ने गरेका छन् । बजारमा १० हजार भन्दा कम मूल्यका खसी पाउन नै गाह्रो परेका उपभोक्ताहरु बताउछन् ।