बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

साउन १५, कञ्चनपुर । बाघको संख्या वृद्धिका लागि उचित बासस्थानसँगै आहारा प्रजातिको पर्याप्तता र तालतलैयाको उपलब्धता आवश्यक मानिन्छ । यसबाहेक निश्चित क्षेत्रमा भाले र पोथीको अनुपात पनि मिल्नुपर्ने हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यही अनुपात नमिलेका कारण केही वर्षयता बाघको संख्या बढ्न सकेको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार सन् २०१८ को गणनामा शुक्लाफाँटामा वयस्क बाघको संख्या १६ छ । क्यामेरा ट्र्यापिङमा परेका १५ वयस्कमध्ये ९ वटा भाले छन् । सन् २०१३ को गणनामा यहाँ १७ र २००९ मा १० वटा बाघ थिए ।
‘बासस्थान र आहारा भएर मात्रै हुँदैन, भाले र पोथीको अनुपात मिल्नु जरुरी हुन्छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले भने, ‘एक भालेका लागि ३ देखि ५ वटासम्म पोथी चाहिन्छ तर यहाँ भाले र पोथीको संख्या बराबर पनि छैन ।’ उनका अनुसार पोथीभन्दा भाले धेरै भए आपसमै लडाइँ परिरहन्छ । लडाइँ परिरहँदा पोथीसँग संसर्ग गर्न पाउँदैनन् ।
भाले र पोथीको सम्पर्क हुन नसकेपछि प्रजनन प्रक्रिया नै सुरु हुँदैन । कहिलेकाहीं सम्पर्क भएर प्रजनन प्रक्रिया भए पनि भालेले डमरुहरू खाइदिने गर्छ । शुक्लाफाँटा रािष्ट्रय निकुञ्ज ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमा ३० प्रतिशत (८८ वर्ग किलोमिटर) घाँसे मैदानले ओगटेको छ । ताल, नदी, खोला पनि प्रशस्त छन् । आहारा प्रजाति पनि पर्याप्त छ । तैपनि बाघको संख्या भने बढ्न सकेको छैन ।
भाले र पोथीको अनुपात नमिल्नु प्रमुख कारण भए पनि निकुञ्जभित्रै मानव बस्ती हुनु, नहर र सडकजस्ता पूर्वाधारका कारण निकुञ्ज टुक्राटुक्रामा विभाजन हुनु पनि बाघको संख्या नबढ्नुका कारण रहेको संरक्षणकर्मी बताउँछन् ।

प्रतिकृया दिनुहोस्