वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी
वीरगञ्ज । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ ।
साउनमा ज्यान गुमाएका ५ जनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने जिवित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिलासहित ५३ जनालाई कोरोना अस्पतालमा लगिएको छ । २८ जनालाई आइसोलेसनको समेत प्रबन्ध गर्न नसकिएको अवस्था छ ।
विगतमा संक्रमितहरुमा लक्षण खासै नदेखिए पनि अहिले भने लक्षणसमेत देखिन थालेको छ । अधिकांशमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता लक्षणहरु देखिन थालेका छन् ।
समुदाय स्तरमा कोरोना फैलिएको ठहर गर्दै पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो यहाँका चिकित्सकहरुको छ ।
नारायणी अस्पतालका जनरल फिजिसियन डा. उदयनारायण सिंह कोरोना महामारीमा निरन्तर खटिएका चिकित्सक हुन् । नारायणी अन्तर्गत गण्डक कोरोना विशेष अस्थायी अस्पताल स्थापनापछि उनलाई नै संयोजक बनाइएको छ ।
डा. सिंह भन्छन् _०७६ चैत २९ गते तीनजना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भयो । पहिलो वेभको शुरुवाती बिन्दु त्यही थियो । छिमेकी मुलुक चीनमा ०१९ को डिसेम्बरमै कोरोना भाइरसले महामारीको रुप लिइसकेको थियो । त्यस अनुसार हामीकहाँ तयारी हुन सकिरहेको थिएन ।
हवाई यात्रा र स्थल मार्गबाट आउनेहरुको उचित व्यवस्थापन हुन सकेन । वीरगञ्ज मुलुककै प्रवेशद्वार यो पहिलेदेखि नै उच्च जोखिम भएको ठाउँ हो । यसबारे तीन तहका सरकार बेखबर थिएनन् । पहिलो वेभ आउँदा वीरगञ्ज हट स्पट बन्यो, ठोस प्लानिङ हुन सकेन ।
नारायणीलाई लेभल २ कोरोना अस्पताल घोषणा गरियो । लक्षण नदेखिएका संक्रमित थिए । हामीले जसोतसो उनीहरुको व्यवस्थापन गर्यौं । त्यति नै खेर विज्ञहरुको परामर्शमा ठूलो कोरोना विशेष अस्थायी अस्पताल बनाउँ भनेर सिफारिस गरिएको हो । गण्डक अस्पताललाई कोरोना विशेष अस्थायी अस्पताल बनाइयो । राजनीतिक र व्यक्तिगत स्वार्थ पूर्तिका लागि कतिपयबाट रोटी सेक्ने काम भयो ।
खिचातानीले हद पार गरिरहेको थियो । तैपनि त्यतिखेर स्थिति साम्य भयो । एक चरणको तीतो अनुभव लिएर कोरोना माहामारीलाई सन्तुलित पारेको न्यानो अनुभूति गरेका थियौं । तैपनि हामीले अहिले चुप लागेर बस्ने अवस्था छैन भनेर सरोकारवालाको ध्यानाकर्षण गराएका हौं । तयारी अवस्थामा बसौं भन्यौं ।
लकडाउन खुकुलो गरियो । लकडाउन मात्रै खुकुलो गरिएको भए पनि स्थिति यति साह्रो बिग्रने थिएन । छिमेकी मुलुक भारतबाट समेत मानिसहरु लुकीछिपी आएर समुदायमा पसे । उद्योग धन्दामा काम गर्ने मजदुर खटिए ।
अहिले भारतमा पनि लकडाउन खुकुलो गरिएपछि संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । अन्य देशको अनुभवले पनि त्यस्तै देखाइरहेको छ । बजारमा माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षा सतर्कतासमेत देखिएको छैन । लागिरहेको छ कि कोरोना महामारी खत्तम भइसकेको छ ।
आइसोलेसन खाली हुने तरखरमा थियो, अचानक वीरगञ्जको परिदृश्य फेरियो । ०७७ असार ३१ गते रौतहटबाट रिफर भई आएका ३६ बर्षीय युवकको मृत्यु भयो । लगतै हामीले खतराको संकेत गर्यौं । शून्यमा पुग्नै लागेको अवस्थाबाट ८ दिनमा ८४ जनामा संक्रमण देखियो ।
संक्रमितमध्ये ४ जनाको मृत्युु भइसकेको छ । एकजना शंकास्पद ंसंक्रमितको आईतबार निधन भयो । संक्रमितमध्ये अधिकांशमा लक्षण छ । भाइरल स्ट्रेन्थ परिवर्तन भएको छ । यसलाई सामान्यरुपमा लिनु हुँदैन भनेर विभिन्न माध्यमबाट सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छौं ।
दुर्भाग्य नै मान्नुपर्छ, साउन १ गतेपछि मात्रै पनि जुन तयारी हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । न केन्द्र सरकार, न प्रदेश, न स्थानीय सरकार वा स्थानीय प्रशासन जिम्मेवार भएर प्रस्तुत भइरहेको छ । संक्रमण पुष्टि भइसकेका २८ जनालाई आइसोलेसन गर्न सकिएको छैन । २८ जना बाहिर हुँदा पनि उनीहरुलाई आइसोलेसनमा राख्न आवश्यक तयारी छैन । संक्रमित घर टोलमा डुलिरहेका छन् । नगर प्रमुख र स्थानीय प्रशासन आ–आफ्नै तालमा हिँड्न खोजिरहेका छन् । आपसमा समन्वयको अभाव छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन सकिरहेको छैन । जनशक्तिको अभावमा विगतमा पनि यसमा कमजोरी भएकै हो ।
गण्डक अस्थायी कोरोना अस्पतालमा जम्मा दुईवटा भेन्टिलेटर छ । बिरामी सिकिस्त हुँदा कहाँ राख्ने ? स्थितिलाई हेर्दा मास टेस्टिङ गर्दा तीन सय जनामा मात्रै संक्रमण देखियो भने ६० प्रतिशतमा लक्षण देखिने हुनसक्छ । तीन सयको हाराहारीमा संक्रमितलाई अक्सिजन सहितको बेड आवश्यक पर्छ ।
सिद्धार्थ माविमा आइसोलेटेड गर्न भनिएको छ । त्यहाँ न अक्सिजन छ, न अस्पतालको जस्तो सेटअप । लक्षण नदेखिएका संक्रमितलाई मात्रै राख्न सक्ने अवस्था छ । नेशनल मेडिकल कलेजजस्तो ठूलो २/३ सय बेड भएको अस्पताल र थप जनशक्ति आवश्यक छ । अनि बल्ल पार लगाउन सकिन्छ । नत्र स्पेन र इटालीको जस्तो अवस्था नबन्ला भन्न सकिन्न ।
वीरगञ्जमा देखिएका केही समस्या र समाधानका उपायहरु बुँदागतरुपमा प्रस्तुत गरेको छु ।
१. पचास शैयाको कोभिड विशेष अस्पताल भरिने संकेत देख्दा पनि त्यसका लागि आवश्यक पहल नहुनु, २८ जना संक्रमित आइसोलेसनमा नपुग्नु । उनीहरुका लागि ठोस व्यवस्था नहुनुले कोभिड महामारीमा भएको पूर्वतयारीलाई गिज्याइरहेको छ ।
२. तीन तहका सरोकारवालाहरु बीच आपसी समन्वयको अभाव छ । राजनीतिक, व्यक्तिगत तथा पदीय स्वार्थसहितका विविध बहानामा निश्चित दुरी छ ।
३.केन्द्रीय सरकारले स्थितिको गम्भीरतालाई बुझ्न सकेको छैन ।
४. असमान्य परिस्थितिमा आवश्यक जनशक्ति र उपकरणको अभाव छ ।
५.स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्ने कदम चाल्न नसकेको अवस्था छ ।
समाधानहरु
१. छिटोभन्दा छिटो बैकल्पिक कोरोना विशेष अस्पतालको व्यवस्था हुनुपर्छ । अनुमानित ३०० शैया बराबरको आइसोलेसन र ३० शैया आईसीयु र कम्तिमा १० वटा भेटिन्टलेटरसहितको हुनुपर्छ ।
२. राजनीतिक तिक्ततालाई थाती राखेर मानवताका लागि तीनै तहका सरकारबीच आपसी सहकार्य हुनुपर्छ ।
३.केन्द्र सरकारद्वारा स्थितिको गम्भीरतालाई मनन गरी तत्काल आवश्यक कदम चाल्नुपर्छ ।
४.सरकारी तथा निजी अस्पतालका दक्ष जनशक्ति पहिचान गरी कोभिड संक्रमितको उपचारमा परिचालन गरिनुपर्ने ।
५.स्वास्थ्यकर्मी तथा सुरक्षकर्मीको मनोबल उच्च राख्न बीमा, भत्ता तथा अन्य सेवाको व्यवस्था तत्काल गरिनुपर्छ ।
६. तिव्रताका साथ टेस्टिङ एवं ट्रयाकिङ मार्फत संक्रमित पहिचान गरि वैज्ञानिकरुपले क्वारेन्टिन तथा आइसोलेसनमा राख्न र संक्रमणको चेन ब्रेक गर्न जरुरी छ ।
७. नागरिकले पनि सामाजिक दायित्व निर्वाह गर्दै निषेधाज्ञाको पूर्ण पालना गरेर कोभिड संक्रमणको घेरा तोड्न सघाउनुपर्छ ।
अन्त्यमा,
वीरगञ्जको अवस्था निकै नै चुनौतीपूर्ण र असमान्य छ । नागरिक समाजको काँधमा जिम्मेवारी थपिएको छ । सरोकारवाला सबै निकायबीच आपसी सहकार्य गर्नुको विकल्प छैन ।
एकजुट भएर मात्रै हामीले कोरोनालाई परास्त गर्न सक्छौं । कोरोना तपाईं हाम्रो घर दैलोसम्म आइपुगेको छ । लापरवाही गर्दा कोरोनालाई फैलन मद्दत पुग्छ । तसर्थ आफू सचेत बनौं, स्वास्थ्य सुरक्षाका उपायहरुको अवलम्वन गरौं । परिवारलाई सुरक्षित राखौं, अनि समाजलाई सुरक्षित राख्न सकेको सहयोग गरौं ।
प्रतिकृया दिनुहोस्